Plants and Soil
डा. सिर्जना भण्डारी
#प्राकृतिक_जीवन #स्वस्थ_जीवन
माटो प्रकृतिको अभिन्न अंग हो। माटो प्रकृतिमै बन्दछ र यो निरन्तर प्रकृया हो। सफलतापुर्बक बोटबिरुवा हुर्काउन आफ्नो बगैचा तथा खेत-बारीको माटोको प्रकृति जान्न अति आबश्यक हुन्छ। प्रकृतिको परिचक्र (Ecosystem)मा माटोको महत्व र भुमिका अभिन्न रहेको हुन्छ। बोटबिरुवाहरु मात्र नभइ मानिस तथा सम्पुर्ण जीबजन्तुहरु आफ्नो जिवन यापनका लागि माटो मै निर्भर गर्दछन्। मानिसहरु माटो(खेत-बारी) मा बालीनाली लगाउँछन् र भित्र्याउँछन्, खानीबाट कच्चा पदार्थ झिक्दछन्, घर बनाउँछन् र जिवनका अन्य क्रियाकलापहरु पनि माटो मै गर्दछन् र मृत्यु पर्यन्त माटो मै मिल्दछन्। त्यस्तै जीब-जन्तुहरुमा पनि साकाहारी जीबजन्तुहरु प्रत्यक्ष्य रुपमा बोटबिरुवाहरुमा निर्भर हुन्छन् र बोटबिरुवाहरु माटोमा हुर्कन्छन्। मांसाहारी जीबजन्तुहरु जो अन्य प्राणीहरुको शिकार गर्दछन् तिनीहरु पनि अप्रत्यक्ष्य रुपमा माटो मै निर्भर गर्दछन्। प्रकृतिले सिर्जना गरेका सम्पुर्ण चिजबस्तुहरु प्राकृतिक हुन् र अन्त्यमा ति सबै प्रकृतिमा मिल्छन् र माटो बन्दछन्। यसरी प्रकृतिमा मिल्ने प्राकृतिक तत्वहरुलाई जैविक तत्व भनिन्छ।
माटो के हो?
पृथ्वीको भुबनोटमा सबभन्दा माथिल्लो तह हो जहाँ बिभिन्न किसिमका बोटबिरुवाहरु हुर्कीरहेका हुन्छन् हामीहरु भवन सडक आदि बनाउँछौं। म्ााटो बिभिन्न तत्वहरुको समिश्रणबाट बनेको हुन्छ जस्तै चट्टान बालुवा गेगर जैबिक तत्व आदि। माटोमा पनि लाखौं जीबजन्तुहरु बसोबास गर्दछन् जसले माटोको स्वास्थ्य सन्तुलित राख्दछन् जस्तै गड्यौला खुम्ले किरा अन्य सुक्ष्म जीबाणुहरु आदि।
मुख्यतया माटोको बनाबटमा निम्न तीन तत्वहरुको समिश्रण रहेको हुन्छ-
- बालुवा तथा खस्रा कण
- माटो तथा मसिना कण
- गेगर तथा जैविक तत्व
माटोको प्रमुख श्रोत चट्टान हो। समयको लामो अन्तरालमा घाम, पानी, अत्यधिक ताप, अत्यधिक ठण्डा, तथा हिउँ आदिका स्पर्सबाट ठुल-ठुला चट्टानहरु फुटेर बिस्तारै मसिना कणहरुमा परिणत हुन्छन् र तिनै मसिना कणहरु नै माटो हुन। यिनै चट्टानका कणहरुमा जैविक तत्वहरु मिलि तिनकै मात्राका आधारमा माटो मलिलो तथा कम मलिलो हुन्छ। जैविक तत्वयुक्त माटोको रंग कालो तथा खैरो हुन्छ र यो अति मलिलो हुन्छ।
माटोमा बिद्यमान यि तीन तत्वहरुका मात्राका आधारमा माटोका किसिम छुट्याइन्छन। बालुवाको अंश (४० वा बढि प्रतिशत) बढि छ
भने त्यस किसिमको माटोलाई बलौटे माटो(Sandy Soil) भनिन्छ। यस किसिमको माटो खुकुलो तथा हलुको हुन्छ। माटो तथा मसिना कणहरुको अंश (४० वा बढि प्रतिशत) बढि छ भने त्यस किसिमको माटोलाई चिम्ट्याइलॊ माटो (Clay Soil) भनिन्छ। बालुवा, चिम्टे-माटो र गेगर तथा रेशायुक्त जैबिक तत्वहरुको सन्तुलित समिश्रण छ भने त्यस किसिमको माटोलाई पागो माटो (Silt Soil) भनिन्छ। सामान्यतया बालुवा माटो र जैविक तत्वको मात्रा क्रमश ४०, ४० र २० प्रतिशत रहेको माटो सबै किसिमले उत्तम मानिन्छ र यही नै पागो माटो हो। पागो माटो फर्र परेको हुन्छ ।
जैबिक तत्व (Organic Matter)
प्रकुतिमा भएका सड्ने तथा कुहिने हरेक पदार्थहरु जैबिक तत्व हु्न्। यि पदार्थहरु सडेर रेशा-रेशा (Fiber) भइ माटोमा मिल्दछन्। यसरी सडेका रेशायुक्त जैबिक तत्वहरु माटोको माथिल्लो भाग र केही ईन्च तल सम्म रहन्छन् जसलाई मलिलो माटो पनि भन्ने गरिन्छ। यि तत्वहरु अत्यन्तै हलुका हुन्छन्। हावाको बेग तथा पानीको भेलले उडाउँदा तथा बगाउँदा सबभन्दा पहिले यिनै तत्वहरु गेगरका रुपमा उडेर तथा बगेर अर्को ठाउँमा गई थुप्रन्छन् र यसरी थुप्रीएको गेगर तथा पागो माटो निकै मलिलो हुन्छ। न त खस्रो न त मसिनो ठिक्कको माटोलाई पागो माटो भनिन्छ र धेरैजसो बोटबिरुवाहरु यस किसिमको माटोमा राम्ररी हुर्कन्छन्। तर केही बोटबिरुवाहरु बलौटे तथा हल्का चिम्ट्याइलो माटो रुचाउँछन्। हुर्कन बढी पानीको आबश्यकता पर्ने बोटबिरुवाहरु हल्का चिम्ट्याइलो माटो रुचाउँछन् भने कम पानीको आबश्यकता पर्ने बोटबिरुवाहरु बलौटे माटो रुचाउँछन्।
No comments:
Post a Comment